काठमाडौँ ,१० माघ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा यस वर्ष पुसमा उल्लेख्य शेयर कारोबार भयो। नेप्सेको पुस महिनाको मासिक विवरण अनुसार चालु वर्षको पुसमा ९७ अर्ब तीन करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।
जुन गत वर्षको सोही अवधिको तुलनामा ६४.८२ प्रतिशत बढी हो। गत वर्ष पुसमा ५८ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
पछिल्ला दुई वर्ष यता पुसमा कारोबार रकम बढ्दै आइरहेको छ। चालु वर्षको तुलनामा अघिल्लो वर्ष भन्दा ७.०७ प्रतिशत कारोबार रकम बढेको छ। अघिल्लो वर्ष पुसमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर किन/बेच भएका थिए।
गएको दुई वर्ष यता आम सर्वसाधारण लगानीकर्ताले शेयर बजारमा उल्लेख्य पैसा लगाउँदै आएका छन्। तर उनीहरूले बैंक वित्तीय संस्थाको शेयरमा भन्दा अरु नै समूहको शेयरमा लगानी बढाएको नेप्सेले प्रकाशित गरेको मासिक विवरणले पुष्टि गर्छ। कारोबार रकमलाई प्रतिशतको आधारमा गणना गर्दा यस वर्षको पुसमा वाणिज्य बैंकको शेयर कारोबार २७.२७ प्रतिशतले घटेको छ।
यस वर्ष पुसमा वाणिज्य बैंकको ६ अर्ब ८० करोड रुपैयाँको शेयर किनबेच भयो। गत वर्ष सोही अवधिमा ९ अर्ब ३५ करोडको शेयर किनबेच भएका थिए। अझै यो वर्ष भन्दा पनि बढी अघिल्लो वर्ष शेयर किनबेच अझै बढी घटेको थियो। अघिल्लो पुसमा १६ अर्ब ४१ करोडको कारोबार भएको थियो। त्यसको तुलनामा गत वर्ष कारोबार रकम ४२.९९ प्रतिशतले घटेको थियो।
यस वर्ष पुसमा वाणिज्य बैंकको मात्रै आकर्षण घटेको छैन। कारोबार रकमको आधारमा वित्त कम्पनी र लघुवित्तको कारोबार समेत घटेका छन्। नेप्सेको विवरण अनुसार लघुवित्तको ४०.९५ प्रतिशतले घटेको छ भने वित्त कम्पनीको २०.८४ प्रतिशतले घटेको छ। विकास बैंकमा थोरै आकर्षण अझै कायम छ। गत पुसमा ४५.७९ प्रतिशतले घटेको कारोबार यो पुसमा आएर ९.८५ प्रतिशतले बढेको छ।
कारोबार रकमलाई प्रतिशतको आधारमा गणना गर्दा यो पुसमा होटेल समूहको सबैभन्दा बढी कारोबार बढ्यो। होटेल समूहको ३१७.६६ प्रतिशतले बढेको छ। त्यस पछि जीवन बिमा कम्पनी छन्। जसको २६३.९७ प्रतिशतले बढेको छ।
दोस्रो बजारमा वाणिज्य बैंक वित्त कम्पनी सबैभन्दा बढी सूचीकृत भएको र उक्त समूहको शेयर सप्लाइ बढी हुने भएकोले गर्दा उक्त समूहका कम्पनीहरूको शेयर मूल्य बढ्न सकिरहेका छैनन्। गएको बुलमा समेत राम्रो प्रदर्शन गर्न नसकेको कारणले गर्दा आम सर्वसाधारण बैंक वित्तलाई छोडेर अरु नै समूहको शेयरमा रमाउन थालेका कारण पनि बैंक वित्त समूहको कारोबार घट्दै आएको हो।
निक्कै लामो समय होल्ड गर्दा पनि शेयर झन् झन् खिइँदै जान थालेपछि लगानीकर्ता बैंक वित्तको शेयर राखेर आजित हुन थालेका छन्।
नेप्सेमा बैंक, वित्त, विकास बैंक र लघु वित्तको मात्रै चार अर्ब ५१ करोड कित्ता शेयर सूचीकृत छन्। जुन कुल सूचीकृत शेयरको ५५.२१ प्रतिशत हो। नेप्सेमा ८ अर्ब १७ करोड कित्ता भन्दा बढी शेयर सूचीकृत छन्।
