काठमाडौं, १२ माघ । माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४० लाख रुपैयाँ थियो।
कम्पनीले ५ मेगावाटको टादी खोला जलविद्युत आयोजनाबाट २०७९ चैत १४ गतेदेखि र ४२ मेगावाटको मस्त्री खोला आयोजनाबाट २०७८ असार ३ गतेदेखि व्यापारीक उत्पादन गरिरहेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.६३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ करोडमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.०६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.८२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५९ पैसा घटेर ३५ रुपैयाँ ५८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४ गुणा रहेको छ।
१ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

