२०८१,माघ २३ गते
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव २७ प्रतिशत कम भएको हो । यस वर्ष करिब ८ प्रतिशत विद्युत विक्री आम्दानी घट्दा कम्पनीको खुद नाफामा असर परेको हो ।
गत वर्ष २ करोड १६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड ९९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । वित्तीय खर्च पनि यो वर्ष ४६ प्रतिशतभन्दा बढीले घटेको छ । गत वर्ष ३४ लाख ७४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १८ लाख ७० हजार यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्येकै सर्वाधिक शेयरमूल्य यस कम्पनीको रहेको छ । माघ २२ गतेसम्मको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ४९९ रुपैयाँ कायम भएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ६ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । दिर्घकालिन कर्जा ३७ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको अल्पकालिन कर्जा भने १० लाख ५२ हजार रुपैयाँ छ । वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५० रुपैयाँ ७३ पैसा छ ।
