२०८१,फागुन ११ गते
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । नगद तथा नगदजन्य उपकरणमा आइपर्न सक्ने जोखिमहरु रक्षावरणका लागि प्राधिकरणले उक्त निर्देशन जारी गरेको हो ।
बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगद जन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितो बन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) मा आइपर्न सक्ने जोखिमहरू विरुद्धको रक्षावरण गर्ने सो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।
निर्देशन अनुसार मौद्रिक क्षति बीमा अन्तर्गत तीन प्रकारको बीमालेख रहेको छ । बैंकरको क्षतिपूर्ति बीमालेख, नगद बीमालेख र निष्ठा जमानी बीमालेख निर्देशनमा रहेको छ ।
बैंकर क्षतिपूर्ति बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र खरिद गर्न पाउँछ । कार्यालय परिसरमा रहेको नगद तथा नगद जन्य उपकरण, धितोमा राखिएको सुरक्षण जुनसुकै व्यक्तिले चोरि, डकैती, आगलागी वा प्रतिरोध, बलजफ्ती को कारणबाट नासिए, क्षतिग्रस्त भए वा नष्ट हुन गएमा यस बीमालेखले रक्षवरण गर्दछ । यसैगरी, एक स्थानबाट अर्को स्थानमा नगद तथा नगदजन्य उपकरण पारवहन गर्दा नष्ट भएमा त्यसको पनि सूरक्षण यस बीमालेखले गर्दछ ।
यस बीमालेखको बीमाशुल्क आधारभुत जोखिमका लागि बीमाङ रकमको २.७५ प्रतिशत, निष्ठा जमानी जोखिम वापत १० रुपैयाँ प्रति व्यक्ति कर्मचारी, सम्पत्ति बीमालेख अन्तर्गत ०.१५ प्रतिशत र आतङबाद जोखिमा लागि ०.६५ प्रतिशत रहेको छ ।
नगद बीमालेख नगद कारोबार गर्ने जुन सुकै संस्थाले खरिद गर्न सक्नेछन् । यस बीमालेखले काउन्टरमा भएको नगद तथा नगदजन्य उपकरणको क्षति, भल्टमा भएको र मार्गस्थानमा भएको क्षतिको रक्षावरण गर्नेछ । काउन्टर वा भल्टमा रहेको नगद तथा नगदजन्य उपकरणको बीमा गर्दा कुल बीमाङ्क रकमको २ रुपैयाँ प्रति हजार बीमाशुल्क भुक्तानी गर्नुपर्दछ । ओसार पसार गर्दाको नगद तथा नगदजन्य उपकरणको रक्षावरणका लागि १.५ प्रतिशत बीमाशुल्क लाग्दछ ।
कर्मचारीले बेइमानी पूर्ण कार्य गरि रोजगारदाता कम्पनीलाई हानी पुर्याएमा निष्ठा जमानी बीमालेखले रक्षावरण गर्नेछ । यस बीमालेख अन्तर्गत जोखिममा रहेको नगदको कुल बीमाङ्क रकमको ५ प्रतिहजार रुपैयाँ बीमाशुल्क लाग्ने गर्दछ । यसका साथै बीमामा समावेश भएका कर्मचारी वापत १०० रुपैयाँ प्रति कर्मचारी बीमाशुल्क थप हुन्छ ।
