काठमाडौं, ४ फागुन । नेपालमा विद्युतीय सवारी (ईभी)को बजार आक्रामकरूपमा विस्तार भइरहेको छ । भन्सार विभागको तथ्यांक हेर्दा पछिल्ला पाँच वर्षमा ईभीको आयात क्रमिकरूपमा उच्च हुँदै गएको देखिन्छ ।
आर्थिक वर्ष (आव) २०७६/०७७ मा ५७५ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । एक अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरका ईभीबाट सरकारले ४५ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आव २०७७/०७८ मा २६१ वटा ईभी आयात भएका थिए । सरकारले ६६ करोड ८ लाख रुपैयाँ बराबरका यी गाडीबाट ३४ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आव २०७८/०७९ देखि नेपालमा ईभीको आयात एक्कासि उच्चदरमा बढेको देखिन्छ । यस वर्ष पाँच अर्ब ३२ करोड ५ लाख रुपैयाँ बराबरका एक हजार ८०७ ईभी आयात भएका थिए । जसबाट सरकारले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आव २०७९/०८० मा चारहजार ५० वटा ईभी आयात भएका थिए । एघार अर्ब ८४ करोड रुपैयाँ बराबरका ती गाडीबाट सरकारले तीन अर्ब ३० करोड ४४ लाख राजस्व संकलन गरेको थियो ।
