काठमाडौँ, वैशाख २३ । आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफले प्रथम बीमा शुल्क र नवीकरण शुल्क संकलनमा पनि अगाडि नै देखिएको छ । कम्पनीले ५ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ भने २६ अर्ब ७६ करोड १८ लाख रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ यद्यपि सक्रिय बीमा लेख संख्याको आधारमा भने नेपाल लाइफ दोस्रोमा पर्न आउँछ ।
बीमा शुल्क बढी संकलनमा गर्ने दोस्रोमा नेशनल लाइफ छ । जसले १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाईफले ३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ११ अर्ब ८० करोड १४ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
१४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा सन नेपाल लाइफ छ । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ ।
