Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

दुग्ध पदार्थ बिक्री नहुँदा डीडीसीका सबै भण्डार गृह भरियो, मूल्य समायोजन गरेर बेच्ने तयारी

दुग्ध पदार्थ बिक्री नहुँदा डीडीसीका सबै भण्डार गृह भरियो, मूल्य समायोजन गरेर बेच्ने तयारी

अर्थ प्लस
दुग्ध पदार्थ बिक्री नहुँदा डीडीसीका सबै भण्डार गृह भरियो, मूल्य समायोजन गरेर बेच्ने तयारी

काठमाडौं, जेठ २६ । मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसीले) ६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरि बिक्री गर्ने तयारी गरेको छ ।

मौज्दात थुप्रिएर किसानलाई भुक्तानी दिन समेत समस्या भएपछि डीडीसीले दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गर्ने तयारी गरेको हो ।

तीन सय मेट्रिक टन खुला मखन र तीन सय मेट्रिक टन स्कीम्ड मिल्क पाउडरको मूल्य समायोजन गरी बिक्री गर्न डीडीसीले आइतबार सावर्जनिक सूचना जारी गरेको छ । यतिबेला डीडीसीसँग ८५० मेट्रिक टन मखन र ९०० मेट्रिक टन स्कीम्ड मिल्क पाउडर मौज्दात रहेको डीडीसीका प्रबन्धक पशुपति ढुंगानाले बताए ।

उनका अनुसार मौज्दात बढी भएपछि डीडीसीका सबै भण्डारण गृह भरिएका छन् । उपत्यकाभित्र र बाहिर गरी डीडीसीसँग कुल मौज्दात क्षमता चार हजार मेट्रिक टन मात्रै रहेका छन् । भाडामा लिइएका भण्डारण गृह समेत भरिएपछि जति सक्दो चाँडो मौज्दात खाली गर्न मूल्य समायोजन गरेर विक्री गर्न खोजिएको ढुंगानाले बताए ।

खरिद गर्न चाहने जुनसुकै इच्छुक व्यक्ति, कम्नी तथा फर्मले सुचना प्रकाशन भएको मितिले सात दिनभित्र डीडीसीको केन्द्रिय कार्यालय लैनचौरमा प्रस्ताव पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

खरिदकर्ताले प्रस्ताव पेश गर्दा खरिद गर्न चाहेको दुग्ध पदार्थको मूल्य अभिवृद्धि करसहित प्रस्ताबमा उल्लेख गर्नुपर्ने बताइएको छ । 

खरिदकर्ताले दुग्ध पदार्थ खरिद गरेर निर्यात गर्न चाहेमा डीडीसीले त्यसकालागि सम्बन्धीत निकायमा सिफारिस गरिदिने समेत सूचनामा उल्लेख छ । मौज्दात थुप्रिएर किसानको बक्यौता भुक्तानीमा समस्या आएपछि डीडीसीले गत वर्षपनि विभिन्न दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गरेको थियो ।

किसानले डीडीसीलाई उधारोमा दुध बिक्री गरेवापत यसवर्ष डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता रकम एक अर्ब नाघिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नै बताउँदै आएका छन् । किसानले निजी क्षेत्रका डेरीहरूबाट करीब ४ अर्ब र डीडीसीबाट १ अर्ब रुपैयाँ बक्यौता लिन बाँकी रहेको केन्द्रिय दुग्ध सहकारी संघले समेत दावी गर्दै आएको छ ।

दुग्ध पदार्थको मौज्दात बढेर समस्या भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हरेकदिन डीडीसीमार्फत दुध विक्री गर्ने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग अनुरोध गरिएपनि त्यसको सुनुवाइ हुन नसकेको डीडीसीका सुचना अधिकारी निलकण्ठ गौतमले जानकारी दिए ।

दुध उत्पादन बढी हुने (फलस सिजन) कात्तिकदेखि चैतसम्म दुध उत्पादनमा वृद्धि हुने भएकाले डेरी उद्योग तथा पाउडर प्लान्टहरूले दुध संकलन पनि बढाउँछन् ।

उत्पादन घट्ने बैशाखदेखि असोजसम्म (लिन सिजन)मापाउडर प्लान्टहरूले संकलन गरेर राखेको दुधलाई बेच्ने गर्दछन् । तर यसपालि लिन सिजनमा समेत अन्य वर्षको दाँजोमा करिब १० प्रतिशतसम्म उत्पादन बढेको डेरी उद्योगीहरू बताउँछन् । जसले गर्दा मौज्दात बढ्ने क्रम नरोकिएको बताइएको छ ।

सम्बन्धित समाचार