Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

अर्थ प्लस
मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

काठमाडौं, चैत १ । चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । 

नेपाल मौरीपालक महासङ्घ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान हुनुपर्ने माग राखेर महासङ्घले सरकारको ध्यानाकर्षण गराएको हो । 

नेपाली महभन्दा आयातीत मह सस्तो भएकाले विदेशबाट आयात गरिने महमा ६० प्रतिशतभन्दा बढी भन्सार शुल्क बढाउन तथा स्थानीयरुपमा उत्पादन भइरहको मह उत्पादन लागत घटाउन पहल गरिनुपर्ने, स्थानीयरुपमा उत्पादित मह घरमै थन्किएको तथा महको आयात बढ्दै गएकाले यसलाई रोकेर नेपाली उत्पादनको खपत बढाउन वातावरण तयार गरिदिन सरकारसँग महासङ्घले माग गरेको छ ।

महासङ्घका जिल्ला शाखा अध्यक्ष दुर्गालाल तामाङका अनुसार नेपालमा हाल वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ भने खपत नौ हजार मेट्रिक टन भइरहेको छ । 

नेपालमा हाल १३ हजार आठ सय किसान यस पेसामा आबद्ध छन् । उनीहरुसँग एक लाख २० हजार गोला मेलीफेरा र एक लाख ७० हजार सेराना मौरीका गोला रहेको तथ्याङ्क छ । 

किसानको समस्या समाधानका लागि लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउँदै आयातित मह प्रतिबन्ध गरिनुपर्नेलगायत ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले किसानका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित हुने बताए । 

सम्बन्धित समाचार