काठमाडौं— प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आगामी साउन २३ गते गर्ने भएको छ। सभा कम्पनीको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे आयोजना हुने छ। कम्पनीको असार २४ गतेको सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्तावको अनुमोदन गर्नेछ भने सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरूको पारित गर्ने पनि गर्नेछ ।
यस सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गर्नुका साथै संस्थापक र सर्वसाधारण शेयर अनुपात कायमै राख्दै हकप्रद शेयरमा भिन्न अंकलाई मिलाउने काम गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आवश्यक परेमा थप परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने काम पनि यस सभाबाट हुनेछ ।
यसअघि २८औं साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको थियो। तर बोनस सेयर वितरणपश्चात चुक्ता पूँजीमा वृद्धि हुने भएकाले हकप्रद शेयर अनुपातलाई ४७ प्रतिशतमा संशोधन गरिनेछ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको छ। त्यस अनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
