काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले यही मंसिर २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्दैछ।
कम्पनीले कुल सार्वजनिक निष्कासन हुने ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई छुट्याएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २०,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो छुट्टै कोटा छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते बन्द हुनेछ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।
