काठमाण्डौ । चर्चित सेयर लगानीकर्ता तथा व्यवसायी दीपेन्द्र अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
आइतबार अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
करिब १० दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार अग्रवाललाई काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। उनलाई विभिन्न कम्पनीको सेयर भित्री कारोबारमा संलग्न भएको आरोप लगाइएको थियो।
पक्राउ परेपछि अग्रवाललाई हिरासतमा राखी थप अनुसन्धान गरिएको थियो। हिरासत अवधिमा उनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूर्वाग्रहका आधारमा कारबाही गराएको भन्दै अनसन सुरु गरेका थिए। उनले भोक हड्ताल समेत गरेका थिए।
पक्राउ भएको केही दिनमै उनका परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
अदालतले थप हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त कारण नदेखिएको भन्दै अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
