काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज परेको छ।
कम्पनीले गत पुस ९ गतेदेखि पहिलो चरणअन्तर्गत आईपीओ जारी गरेको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आजसम्म आवेदन दिनुपर्नेछ।
सूर्यकुण्ड हाईड्रोले गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।
सेयर वितरण विवरण
-
जारी पूँजीको १०% अर्थात ६ लाख ८९ हजार ६७५ कित्ता सेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका स्थानीय बासिन्दाका लागि
-
जारी पूँजीको १०% अर्थात ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि
आवेदन सीमा
-
स्थानीय बासिन्दा: न्यूनतम १० कित्ता, अधिकतम ५० हजार कित्ता
-
वैदेशिक रोजगारीमा रहेका नेपाली: न्यूनतम १० कित्ता, अधिकतम ५० हजार कित्ता
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पुस २३ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा, साथै कम्पनीको थापाथलीस्थित कार्यालयमा सुविधा उपलब्ध हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। पहिलो चरण सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
