सालपा विकास बैंक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको छ। बैंकले कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर सार्वजनिक गरेको छ, जसमा सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीका लागि २६ हजार ११९ कित्ता छुट्टाइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालय वा मेरो सेयर प्रणालीमार्फत दिन सकिन्छ। आईपीओ आवेदन अवधि छिटोमा पुस २० गतेसम्म र ढिलोमा पुस ३० गतेसम्म रहनेछ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत मंसिर २५ देखि २९ गतेसम्म पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डले गत मंसिर ८ गते बैंकलाई १०० रुपैयाँ अंकित दरमा कुल १७ लाख २३ हजार ८८० कित्ता सेयर (१७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबर) निष्कासनको अनुमति दिएको थियो, जसमा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको थियो। बाँकी सेयर अहिले आम सर्वसाधारणका लागि खुला गरिएको हो।
