Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से पुनर्संरचना अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

नेप्से पुनर्संरचना अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

अर्थ प्लस
नेप्से पुनर्संरचना अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचनाका लागि गठन गरिएको अध्ययन समितिले तयार पारेको १२६ पृष्ठको सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। प्रकाशजंग थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन तयार पारेको हो। यो प्रतिवेदन गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।

नेप्से पुनर्संरचनाका लागि गठित थापा समितिले पुँजी वृद्धि, रणनीतिक साझेदारी, विनिवेश, सुशासन र प्रविधि सुधारसम्बन्धी महत्वपूर्ण सुझावहरू दिएको छ। हाल १ अर्ब चुक्ता पुँजी रहेको नेप्सेलाई दोस्रो बजार सञ्चालनका लागि आवश्यक ३ अर्ब पुर्‍याउन संचित मुनाफा र जगेडा कोषलाई बोनस सेयरमार्फत पुँजीमा रूपान्तरण गर्न सकिने सुझाव दिइएको छ।

समितिले १० देखि १५ प्रतिशत स्वामित्वसहित १० वर्ष लक–इन अवधि राखेर रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव गरेको छ। साथै, सरकारी स्वामित्व आंशिक वा पूर्ण रूपमा विनिवेश गर्ने विकल्प प्रस्तुत गर्दै विभिन्न स्वामित्व संरचनाको खाका अघि सारेको छ।

सञ्चालक समितिमा स्वतन्त्र विशेषज्ञको संख्या बढाउने, सुशासनसम्बन्धी समिति गठन गर्ने र पारिश्रमिक तथा कार्यसम्पादन मापदण्ड तय गर्न सिफारिस गरिएको छ। प्रविधि सुधारअन्तर्गत अन्तर्राष्ट्रियस्तरको कारोबार प्रणाली, रियल–टाइम निगरानी, साइबर सुरक्षा र एपीआई इन्टिग्रेसन लागू गर्नुपर्ने उल्लेख छ। 

दोस्रो बजार पूर्वाधार सुधार, एआई–आधारित निगरानी प्रणाली र अन्तर्राष्ट्रिय धितोपत्र आयोग संगठन (आईएससीओ) मापदण्डअनुसार संस्थागत संरचना सुदृढ गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार