काठमाण्डौ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १४ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा वृद्धिमा आयोजनाको पूर्ण सञ्चालन र वित्तीय खर्चमा आएको कमी प्रमुख कारण बनेको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
यद्यपि सञ्चालन खर्चतर्फ वृद्धि देखिएको छ। प्रशासनिक खर्च ७८ लाख ९० हजार रुपैयाँ, कर्मचारी खर्च ८९ लाख ९५ हजार रुपैयाँ र बोनस खर्च ३९ लाख ५१ हजार रुपैयाँ पुगेको छ। तर, वित्तीय खर्च भने १५ करोड ६० लाखबाट घटेर ११ करोड ७९ लाखमा सीमित भएको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। यस अवधिसम्म दीर्घकालीन कर्जा ३ अर्ब १ करोड रुपैयाँ र अल्पकालीन कर्जा २० करोड ७४ लाख रुपैयाँ रहेको छ। कुल चालु सम्पत्ति ४० करोड ७९ लाख रुपैयाँ र चालु दायित्व २४ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (EPS) १४.३४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११८.१२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३२.०८ गुणा तथा तरलता अनुपात १.६७ गुणा कायम भएको छ।
