जुम्ला / मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। यससँगै नेपालको सबैभन्दा दुर्गम तथा वित्तीय सेवाबाट वञ्चित क्षेत्रमध्ये एकमा बिमा र वित्तीय सुरक्षा सेवा विस्तार गर्ने महत्त्वपूर्ण कदम चालिएको कम्पनीले जनाएको छ।
जुम्ला जस्ता दुर्गम क्षेत्रमा सीमित पूर्वाधार र वित्तीय सेवासम्मको पहुँच नहुँदा स्थानीय बासिन्दाले भोग्दै आएका चुनौतीलाई ध्यानमा राख्दै स्थानीय एजेन्सी कार्यालय स्थापना गरिएको हो।
यस कार्यालयमार्फत व्यक्तिगत ग्राहक सेवा, वित्तीय साक्षरता अभिवृद्धि, तथा स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय परिवारलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न आवश्यक मार्गदर्शन र उपकरण उपलब्ध गराइनेछ।
शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्न मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। यसले विद्यार्थीका लागि आधुनिक, अन्तरक्रियात्मक सिकाइ वातावरण विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, स्थानीय युवालाई लक्षित गरी बिमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन सहयोग पुग्ने बताइएको छ।
जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले दुर्गम समुदायसम्म वित्तीय सुरक्षा पुर्याउने हाम्रो प्रतिबद्धता देखाउँछ। बिमा सेवा विस्तारसँगै शिक्षा सहयोग र युवा सचेतनामार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो लक्ष्य हो।”
