Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बाजेको सेकुवाले प्रिमियम मूल्यमा आइपिओ ल्याउने, साउन १ गते विशेष साधारण सभा

बाजेको सेकुवाले प्रिमियम मूल्यमा आइपिओ ल्याउने, साउन १ गते विशेष साधारण सभा

अर्थ प्लस
बाजेको सेकुवाले प्रिमियम मूल्यमा आइपिओ ल्याउने, साउन १ गते विशेष साधारण सभा

काठमाडौँ / नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारी गरेको छ । 

कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आइपिओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

आइपिओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ । काठमाडौँको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा हुने कम्पनीले जनाएको छ । सभाबाट आइपिओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा समेत रहेको छ ।

यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो । 

कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउँदै क्रेडिट रेटिङसमेत गराइसकेको छ, जसअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई मध्यम स्तरको सुरक्षित मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ । 

संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पुँजी कायम भएको कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

४९ वर्षको इतिहास बोकेको बाजेको सेकुवा एयरपोर्ट क्षेत्रको सिनामंगलबाट सुरु भएको हो । हाल कम्पनीले नेपाल तथा विदेशमा गरी २९ वटा शाखा सञ्चालन गरिरहेको छ ।

परम्परागत नेपाली खाना र सेकुवा परिकारका लागि परिचित यस ब्रान्डले २०० भन्दा बढी मेनु परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । 

यो कम्पनी २०६६ साल कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो भने २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो ।

आर्थिक रूपमा समेत कम्पनीले पछिल्ला वर्षहरूमा सुधार देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि २०८१÷८२ सम्म कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ । 

आउटलेट विस्तार र ब्रान्ड विस्तारसँगै रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो मागले आम्दानी वृद्धि भएको कम्पनीको दाबी छ ।

सम्बन्धित समाचार