काठमाडौँ/ नेपालको निर्जीवन बीमा क्षेत्र डिजिटल फड्को मारिरहेको छ । अहिले विमा लेख तथा प्रिमियम तिर्ने विषयमा एउटा एप्स क्लिक गरेको आधारमा सबै सेवा उपलब्ध हुन्छन् । किसानहरुले आफ्नो फार्मबाटै कृषि बिमाबारे बुझ्न र सहयोग पाउने भइसकेका छन् ।
मुलुकको अग्रणी स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी किसानहरुसँगको डिजिटल फड्कोमा अब्बल देखिन्छ । पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई आफ्नो दीर्घकालीन रणनीति समेत कम्पनीले बनाएको छ । कम्पनीले बीमा सेवालाई प्रविधिमैत्री, छिटो, पारदर्शी र ग्राहकमुखी बनाउनका लागि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको हो ।
कम्पनीले वार्षिक प्रतिवेदन २०८१/ ८२ मा सूचना प्रविधिमा गरिएको लगानीले सेवा प्रवाहदेखि दाबी व्यवस्थापनसम्म उल्लेखनीय सुधार ल्याएको जनाएको छ ।
डिजिटल रूपान्तरणलाई रणनीतिक प्राथमिकता
बीमा उद्योग विश्वव्यापी रूपमा डिजिटल प्रविधितर्फ रूपान्तरण भइरहेका बेला शिखर इन्स्योरेन्सले पनि आफ्नो व्यवसायिक संरचना, सेवा प्रवाह तथा सञ्चालन प्रणालीलाई प्रविधिसँग एकीकृत गर्दै आएको छ । कम्पनीका अनुसार सूचना प्रविधिमा गरिएको लगानीले सञ्चालन प्रक्रियालाई सरल, प्रभावकारी र पारदर्शी बनाएको छ । त्यस्तै, ग्राहकले छिटो तथा सहज सेवा प्राप्त गर्न थालेको कम्पनीको भनाइ छ ।
कम्पनीले डिजिटल माध्यमबाट बीमा खरिद, बीमालेख नवीकरण, प्रिमियम भुक्तानी, ग्राहक सहायता तथा दाबी व्यवस्थापनका सेवा विस्तार गर्दै आएको जनाएको छ ।
यसले ग्राहकलाई शाखा कार्यालयमा बारम्बार पुग्नुपर्ने अवस्थालाई उल्लेखनीय रूपमा कम गरेको कम्पनीको भनाइ छ ।
दाबी व्यवस्थापनमा डिजिटल प्रणालीको प्रभाव
शिखर इन्स्योरेन्सले समयमै बीमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको छ । कम्पनीका अनुसार सूचना प्रविधिको प्रभावकारी प्रयोगका कारण दाबी दर्ता, मूल्याङ्कन, आवश्यक कागजातको व्यवस्थापन तथा भुक्तानी प्रक्रिया थप व्यवस्थित र छिटो भएको छ ।
आर्थिक वर्ष २०८१/ ८२ मा प्राकृतिक विपत्तिका कारण बीमा दाबी उल्लेखनीय रूपमा बढ्दा पनि कम्पनीले डिजिटल प्रणालीमार्फत दाबी व्यवस्थापनलाई प्रभावकारी बनाएको जनाएको छ । सो अवधिमा कम्पनीले कुल ३५३ करोड रुपैयाँ बराबरको बीमा दाबी व्यवस्थापन गरेको थियो । पुनर्बीमा,, IBNR, IBNER तथा अन्य प्रावधान समायोजनपछि कम्पनीको खुद दाबी खर्च १ अर्ब २ करोड रुपैयाँभन्दा बढी पुगेको थियो ।
दाबी खर्च बढे पनि कम्पनीको Net Combined Ratio अघिल्लो वर्षको ६८ प्रतिशतबाट घटेर ६० प्रतिशत मा झरेको छ । कम्पनीका अनुसार व्यवस्थापनमा डिजिटल प्रणालीको प्रभावकारी प्रयोग तथा सञ्चालन दक्षताको परिणामले यस्तो सुधार आएको हो ।
नवीन बीमालेख उत्पादन तथा विकासमा अग्रणी
शिखर इन्स्योरेन्सले डिजिटल सोचसँगै उत्पादन विकासलाई पनि प्राथमिकता दिएको छ । कम्पनीका अनुसार हाल नेपालमा सबैभन्दा धेरै ७८ वटा बीमालेख सञ्चालनमा छन्, जसमध्ये ८ वटा बीमालेख कम्पनीले आफैँ विकास गरेका नवीन उत्पादन हुन् ।
आर्थिक वर्ष २०८१/ ८२ मा मात्रै कम्पनीले थप तीन नयाँ बीमालेख सार्वजनिक गरेको छ । कम्पनीले हरेक वर्ष नयाँ बीमा उत्पादन विकास गर्दै बीमाको पहुँच विस्तार गर्ने रणनीतिलाई निरन्तरता दिएको जनाएको छ ।
प्रविधिमार्फत कृषि बीमामा नवप्रवर्तन
डिजिटल रूपान्तरणसँगै कम्पनीले कृषि बीमामा पनि नवीन अवधारणा अघि बढाएको छ । कम्पनीले सूचकाङ्कमा आधारित बाढी बीमा (Index-based Flood Insurance) विस्तार गर्न जर्मन विकास परियोजना Insu Resilience Fund (ISF) सँग सहकार्य गरेको छ ।
सम्झौताअनुसार आगामी तीन वर्षसम्म उक्त बीमाको बीमाशुल्कको ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ । यसका लागि कम्पनीले ३ लाख ३१ हजार ४८० युरो बराबरको अनुदान प्राप्त गर्नेछ । कम्पनीका अनुसार यसले कृषि क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न र किसानलाई प्राकृतिक विपत्तिबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
शिखर इन्स्योरेन्सको ‘डिजिटल शिखर’
शिखर इन्स्योरेन्सले आफ्नो Digital Shikhar Portal मार्फत बीमा सेवालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने अभियानलाई तीव्रता दिएको छ । यस पोर्टलमार्फत ग्राहकले घरमै बसेर विभिन्न प्रकारका निर्जीवन बीमा योजनाबारे विस्तृत जानकारी प्राप्त गर्न, मोटर, यात्रा, सम्पत्ति, स्वास्थ्य, व्यक्तिगत दुर्घटना, कृषि, इन्जिनियरिङ, समुद्री तथा अन्य बीमाका लागि अनलाइन कोटेसन लिन, बीमालेख खरिद गर्न, नवीकरण गर्न तथा सुरक्षित डिजिटल माध्यमबाट प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ ।
त्यस्तै, बीमा दाबीसम्बन्धी जानकारी प्राप्त गर्ने, दाबी प्रक्रियाका लागि आवश्यक निर्देशन हेर्ने, नजिकको शाखा कार्यालय, सर्वेयर, ग्यारेज तथा क्यासलेस अस्पताल खोज्ने, प्रिमियम क्याल्कुलेटर प्रयोग गरी आफ्नो आवश्यकताअनुसार बीमा शुल्कको अनुमान गर्नेलगायतका सेवा पनि यही पोर्टलमार्फत उपलब्ध छन् ।
पोर्टलमा ग्राहक सहायता, सम्पर्क विवरण, बीमा उत्पादनसम्बन्धी जानकारी, आवश्यक फाराम, सूचना तथा सेवासम्बन्धी अपडेटहरू समेत एकीकृत रूपमा राखिएको छ, जसले ग्राहकलाई एउटै प्लेटफर्मबाट सम्पूर्ण बीमा सेवा प्राप्त गर्ने सुविधा प्रदान गर्छ । डिजिटल प्रक्रियाको प्रयोगले बीमालेख खरिददेखि नवीकरण, प्रिमियम भुक्तानी, सेवा अनुरोध तथा जानकारी प्राप्तिसम्मका कामलाई कागजी प्रक्रियाभन्दा धेरै छिटो, सहज, सुरक्षित र पारदर्शी बनाएको कम्पनीको दाबी छ ।
सूचना प्रविधिमा आधारित यस प्रणालीले शाखा कार्यालयमा भौतिक रूपमा पुग्नुपर्ने आवश्यकता उल्लेखनीय रूपमा घटाएको मात्र होइन, सेवा प्रवाहलाई २४सै घण्टा उपलब्ध गराउँदै ग्राहक अनुभवलाई थप प्रभावकारी बनाएको छ । डिजिटल नवप्रवर्तनलाई प्राथमिकता दिँदै शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ आधुनिक प्रविधि, स्वचालित सेवा प्रणाली, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमत्तामा आधारित समाधानहरू समावेश गरी नेपालको निर्जीवन बीमा क्षेत्रलाई थप आधुनिक, प्रतिस्पर्धी र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।
सञ्चालन दक्षता र ग्राहक अनुभवमा सुधार
कम्पनीका अनुसार डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहलाई मात्र होइन, सञ्चालन खर्च नियन्त्रण, जोखिम व्यवस्थापन तथा ग्राहक अनुभवमा पनि सुधार ल्याएको छ । सूचना प्रविधिको प्रयोगमार्फत विभिन्न आन्तरिक प्रक्रिया स्वचालित ९ब्गतयmबतष्यल० बनाइएकाले निर्णय प्रक्रिया छिटो भएको र सेवा गुणस्तरमा सुधार आएको कम्पनीले जनाएको छ ।
डिजिटल प्रणालीको विस्तारले ग्राहकले बीमासम्बन्धी जानकारी, सेवा तथा दाबी प्रक्रियामा सहज पहुँच प्राप्त गरेका छन् । यसले बीमा सेवाप्रतिको विश्वास अभिवृद्धि गर्न पनि सहयोग पुगेको कम्पनीको निष्कर्ष छ ।
भविष्यको रणनीति
शिखर इन्स्योरेन्सले आगामी दिनमा कृत्रिम बुद्धिमत्ता, डेटा एनालिटिक्स, डिजिटल जोखिम मूल्याङ्कन, अनलाइन ग्राहक सेवा तथा स्वचालित बीमा प्रक्रियालाई थप विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ । कम्पनीले सूचना प्रविधिलाई संस्थागत विकासको प्रमुख आधार बनाउँदै नेपालको निर्जीवन बीमा क्षेत्रलाई अझ आधुनिक, प्रतिस्पर्धी र सेवामुखी बनाउने लक्ष्य लिएको छ ।बीमा उद्योगमा बढ्दो डिजिटल प्रतिस्पर्धाका बीच शिखर इन्स्योरेन्सले प्रविधिमा निरन्तर लगानी गर्दै ग्राहकलाई सरल, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।
