काठमाडौँ / खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आइपिओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाएकाे जानकारी दिएकाे हाे ।
कम्पनीको प्रस्तावित पुँजी संरचनाअनुसार कुल जारी पुँजी ४२ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ ।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ । कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङ प्राप्त गरेको छ भने हाल अन्डरराइटरसँग सम्झौता, विवरणपत्र तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित काम अघि बढिरहेको बताइएकाे छ ।
त्यस्तै, कम्पनीले आगामी मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिने र २०८४ जेठसम्म स्वीकृति प्राप्त गर्ने लक्ष्य राखेको छ । यद्यपि, वास्तविक समय नियामकीय प्रक्रिया र स्वीकृतिमा निर्भर हुने कम्पनीले जनाएको छ ।
व्यवसाय विस्तार तथा कार्यसञ्चालनका लागि कम्पनीले विभिन्न स्रोतबाट कुल ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । जसमा १९ करोड रुपैयाँ ऋण, १४ करोड रुपैयाँ जग्गा बिक्री, १० करोड रुपैयाँ आइपिओ र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टबाट जुटाउने योजना कम्पनीकाे याेजना छ ।
अमूदी फुड्सकाे स्थापना वि.सं. २०६९ मा भएको हाे । कर्पाेरेट कार्यालय काठमाडौँको कोटेश्वरमा रहेकाे कम्पनीकाे उत्पादन कारखाना भने चितवनको भरतपुरमा रहेको छ ।
