काठमाडौं, माघ २४ । शेयर खरिदको लागि जाने शेयर धितो कर्जा निरन्तर बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत पुस महिनामा मात्रै ३ अर्ब बढीको शेयर धितो कर्जा गएको छ।
गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। पुससम्ममा ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा गएको छ।
मंसिरसम्ममा यस्तो कर्जा बढेर ८१ अर्ब १९ करोड रुपैयाँ थियो। पुसमा मात्रै बैंकहरुले ३ अर्ब १०९ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन्।
राष्ट्र बैंकले शेयर धितो कर्जाको नीतिमा केहि खुकुलो बनाउदै लगेपछि यस्तो कर्जा बढ्न थालेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो भने सीमा पनि बढाएको थियो। सो पश्चात ठूला कर्जा बढ्न थालेको देखिन्छ।
- ठूला कर्जा बढ्दै
चालु आर्थिक वर्षमा १ कराेड रुपैयाँभन्दा बढी रकमको कर्जा सबैभन्दा धेरै १४ प्रतिशतले बढेको छ भने ५० लाखदेखि १ करोडसम्मको कर्जा ८ प्रतिशतले बढेको छ। यसले ठूला कर्जा बढ्न थालेको प्रष्ट देखाउछ।
लगानीकर्ताले कर्जा थप्दै जाँदा ठूला कर्जा बढेको छ। असारसम्ममा ४४ अर्ब ७१ करोड रहेको १ करोड माथिको कर्जा अहिले ५१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
५ देखि ५० लाखसम्मको कर्जा भने २ प्रतिशतले बढेको छ। २५ लाख तलको कर्जा पनि १.९ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले शेयर धितो कर्जामा केहि लचक नीति लिएपछि बैंकहरुमा कर्जाको माग झनै बढेको बैंकरहरु बताउछन्। नयाँ कर्जा लिने ग्राहक पनि बढीरहेका छन् भने पहिलेदेखि नै कर्जा लिइरहेका ग्राहकले पनि कर्जा थपिरहेका छन्।
अहिले राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको सीमा बढाएर संस्थागत लगानीकर्तालाई २० करोड र व्यक्तिगत लगानीकर्तालाई १५ करोड पुर्याएको छ। यस्तै शेयर धितो कर्जाको जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ। यसले गर्दा पनि शेयर धितो कर्जा बढेको हो।
अहिले शेयर बजारले विस्तारै गति लिन थालेको कारण पनि लगानीकर्ताले कर्जा लिएर बजारमा लगानी बढाउन थालेका छन्। बैंकहरुले ब्याजदर घटाइरहेको र शेयर बजारले पनि गति लिन थालेको कारण लगानीकर्ताले लगानी बढाउन थालेका हुन्। पछिल्ला दिनमा शेयर धितो कर्जाको माग अझै बढेको बैंकरहरु बताउछन्।
