काठमाडौं, फागुन २ । सर्बोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयको लागि जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बुधबार शेयर बाँडफाँट गरिएको हो।
कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबर प्रति शेयर अंकितमूल्य १०० दरको ६० लाख कित्ता शेयरको ६० प्रतिशत अर्थात ३६ लाख कित्ता शेयरमध्ये उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको जारी पूँजीको २ प्रतिशतले हुन आउने ९ लाख ३० हजार कित्ता शेयर प्रति शेयर मूल्य ३६० रुपैयाँ ९० पैसाको दरमा बिक्रमा ल्याएको थियो।
बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६)को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम माग भन्दा कम शेयरका लागि मात्र आवेदन प्राप्त भएको हुनाले रीतपूर्वक प्राप्त भएका २ लाख ४८ हजार ४७० कित्ता शेयर १,२२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने बाँडफाँट गरिएको छ ।
साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता शेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता शेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको शेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने छ ।
