काठमाडौँ, फाल्गुण ७ । शेयर बजार बढ्दा बीमा कम्पनीहरुलाई पनि फाइदा पुगेको छ। बजार बढ्दा बीमा कम्पनीहरुले शेयर बजारमा गरेको लगानीको पोर्टफोलियो बढेको छ भने कम्पनीहरुले शेयर बजारमा थप लगानी पनि बढाएका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्याँक अनुसार दोस्रो त्रैमासमा बीमा कम्पनीहरुले शेयर बजारमा गरेको लगानीको बृद्धिदर सबैभन्दा धेरै छ। दोस्रो त्रैमासमा बीमा कम्पनी, निजीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले सूचीकृत साधारण शेयरमा लगानी २ अर्ब १९ करोड रुपैयाँले बढाएको तथ्याँकले देखाउछ। शेयर बजार बढ्दा एकातिर बीमा कम्पनीहरुले लगानी गरेको कम्पनीको शेयरमूल्य समेत बढेको छ भने अर्कोतर्फ उनीहरुले थप लगानी समेत बढाइरहेका छन्। यसले गर्दा कुल लगानी बढेको देखिएको हो।
केहि समय अघिसम्म बैंकहरुको मुद्दतीको ब्याजदर उच्च हुँदा ब्याजबाटै मनग्य आम्दानी गरिरहेका बीमा कम्पनीहरुले अहिले मुद्दतीको ब्याजदर घटेपछि भने लगानीका अन्य क्षेत्र पनि खोज्न थालेका छन्। कम्पनीहरुले अहिले बढी प्राधिकरणको लगानी निर्देशिका अनुसार अन्य क्षेत्रमा पनि लगानी बढाउन थालेका हुन।
बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याउदा बीमा कम्पनीहरुले समेत १० प्रतिशतसम्म ब्याज पाउन थालिसकेका थिए। तर अहिले मुद्दती निक्षेपमा ६ प्रतिशतको हाराहारी मात्रै ब्याज पाउछन्। यसले गर्दा पनि बीमा कम्पनीहरुले अहिले बढी प्रतिफल आउने क्षेत्रमा लगानी बढाउन थालेका हुन्।
बीमा कम्पनीहरुले शेयर बजारमा सूचीकृत कम्पनीको शेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउछन्। कम्पनीहरुले अहिले सूचीकृत शेयरमा सो बराबरको लगानी गरिनसकेकोले पनि थप लगानी बढाउन थालेका हुन्।
- जीवन बीमा कम्पनीहरुको कुल लगानी ३ प्रतिशतले बढ्यो, शेयर बजारको लगानीमा १४ प्रतिशत बृद्धि
दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको कुल लगानी ३.७४ प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा ६ खर्ब १२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमाससम्ममा ६ खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन्।
जीवन बीमा कम्पनीहरुले शेयरमा गरेको लगानी सबैभन्दा धेरै बढेको छ। सूचीकृत साधारण शेयरमा गरेको लगानी र संस्थापक शेयरमा गरेको लगानी दुबै बढेको छ। प्राधिकरणको तथ्याँक अनुसार जीवन बीमा कम्पनीहरुले सूचीकृत साधारण शेयरमा गरेको लगानी १४.१४ प्रतिशतले बढेको छ। पहिलो त्रैमाससम्ममा १० अर्ब ८३ करोड रुपैयाँ लगानी गरेकोमा दोस्रो त्रैमाससम्ममा यस्तो लगानी १२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।
यस्तै संस्थापक शेयरमा गरेको लगानी भने १४.८४ प्रतिशतले बढेको छ। पहिलो त्रैमाससम्ममा ९ अर्ब ७३ करोड रुपैयाँ लगानी रहेकोमा दोस्रो त्रैमासमा ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
जीवन बीमा कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी भने ३.२३ प्रतिशतले मात्रै बढेको छ। पहिलो त्रैमासमा वाणिज्य बैंक, विकास बेंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ४ खर्ब ६५ अर्ब रुपैयाँ लगानी गरेकोमा गत पुस अन्तिमसम्ममा यो रकम ४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।
यता बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा गरेको लगानी पनि ६.२४ प्रतिशतले बढेको छ। पुससम्ममा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुको ४५ अर्ब १२ करोड रुपैयाँ लगानी छ।

- निर्जीवन बीमा कम्पनीको कुल लगानी ३ प्रतिशतले बढ्दा, शेयर बजारको लगानी करिब १० प्रतिशत बढ्यो
निर्जीवन बीमा कम्पनीहरुको पनि ऋणपत्र र शेयर बजारमा गरेको लगानी सबैभन्दा धेरै बढेको छ। दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी २.९९ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अन्तिमसम्ममा ६० अर्ब ५१ करोड रुपैयाँ कुल लगानी रहेकोमा पुस मसान्तसम्ममा यो लगानी ६३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाकाे ऋणपत्रमा गरेको लगानी सबैभन्दा धेरै बढेको छ। यस अवधिमा ऋणपत्रमा गरेको लगानी १२.०९ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
यस्तै सूचीकृत कम्पनीको शेयरमा गरिएको लगानी ९.८८ प्रतिशतले बढेको छ। असोज मसान्तसम्ममा ३ अर्ब १६ करोड रुपैयाँ रहेको यस्ताे लगानी पछिल्लो ३ महिनामा ३१ करोड २५ लाख रुपैयाँले बढेर ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
निजीवन बीमा कम्पनीहरुले संस्थापक शेयरमा गरेको लगानी भने घटेको छ। असोजसम्ममा २ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरमा लगानी गरेकोमा पुससम्ममा यस्तो लगानी १६.७४ प्रतिशतले घटेर १ अर्ब ९९ करोड रुपैयाँमा झरेको छ।
यस अवधिमा मुद्दती निक्षेपमा राखेको रकम भने २.९६ प्रतिशतले बढेर ४९ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४८ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका थिए।

- पुनर्बीमा कम्पनीले पनि शेयर बजारमा गरेको लगानी सबैभन्दा धेरै बढ्यो
पुनर्बीमा कम्पनीहरुले पनि शेयर बजारमा गरेको लगानी सबैभन्दा धेरै बढेको छ। कम्पनीहरुको कुल लगानी १७ प्रतिशतले बढ्दा शेयर बजारमा गरिएको लगानी ५३ प्रतिशतले बढेको छ।
गत असोज मशान्तसम्ममा ३० अर्ब ३९ करोड रुपैयाँ रहेको पुनर्बीमा कम्पनीहरुको कुल लगानी १७.५८ प्रतिशतले बढेर पुस अन्तिमसम्ममा ३५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
दोस्रो त्रैमासमा पुनर्बीमा कम्पनीहरुले सूचीकृत कम्पनीको शेयरमा गरेको लगानी सबैभन्दा धरै ५३.०३ प्रतिशत अर्थात ३४ करोड ४५ लाख रुपैयाँले बढेको छ। असोज मसान्तसम्ममा ६५ करोड ९ लाख रुपैयाँ लगानी गरेकोमा पुस मसान्तसम्ममा यस्तो लगानी बढेर ९९ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा गरिएको लगानी भने ५ प्रतिशतले घटेको छ। अन्य संस्थापक शेयरमा गरिएको लगानी १.४७ प्रतिशतले बढेको छ।
पुनर्बीमा कम्पनीहरुको मुद्दती निक्षेपको लगानी पनि २०.५१ प्रतिशतले बढेको छ। असोज मसान्तसम्ममा २५ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेकोमा पुस मसान्तसम्ममा ३० अर्ब ४३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन्। पुनर्बीमा कम्पनीहरुले अधिकाँश रकम मुद्दतीमा नै लगानी गरेको देखिन्छ। कुल लगानीमा ५ अर्ब रुपैयाँ मात्रै अन्य क्षेत्रमा लगानी गरेका छन्।

