काठमाडौं, ८ फागुन । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेश हमालले सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिमार्फत अनुमति दिए यता कुनै कम्पनीले पनि नयाँ आईपीओको स्वीकृति पाएका छैनन् । हमालले चालु आवमा सर्वोत्तम र रिलायन्स स्पिनिङसहित ७ वटा कम्पनीलाई मात्रै आईपीओ निष्काशन अनुमति दिएका थिए ।
बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टले फागुन १३ गतेबाट सर्वसाधारणलाई शेयर निष्काशन गर्दैछ भने रिलायन्स स्पिनिङले योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरिसकेर वैदेशिक रोजगारमा गएका नेपाली र स्थानीय प्रभावितलाई शेयर निष्काशन गर्ने तयारी गर्दैछ । स्थानीय प्रभावितलाई निष्काशन भएको शेयर बाँडफाँट भएपछि मात्रै सर्वसाधारणको पालो आउँछ । गत पुस २० गते हमालको कार्यकाल सकिएपछि अहिले नयाँ आईपीओ, एफपीओ र हकप्रद निष्काशनको अनुमति दिन ठप्प नै रहेको छ । अध्यक्षको नभएको बहानामा धेरै जोखिम लिएर धितोपत्र बोर्डका सञ्चालकहरुले नयाँ आईपीओको नियुक्ति दिन नचाहेको बोर्डका कर्मचारीहरु बताउँछन् ।
पुस २० मा बोर्ड अध्यक्ष हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त नगरे पनि प्रक्रिया भने अगाडि बढाएको छ । धितोपत्र ऐन अनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्करसहित उदय निरौला छन्। निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन्। विज्ञका रुपमा निरौलालाई सदस्य बनाइएको हो। समितिले बोर्डको अध्यक्ष छनोट सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ। कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ। सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छन्। त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्। अध्यक्ष नियुक्तिको लागि समिति गठन भए पनि उक्त समितिले अध्यक्ष पदको लागि सार्वजनिक आह्वान गरिसकेको अवस्था छैन ।
निवर्तमान अध्यक्ष हमाल बोर्डमा बहाल रहँदै प्रिमियममा धमाधम आईपीओ निष्काशन अनुमति दिएको भनेर आलोचना भएपछि अध्ययनको बहानामा हमालले आईपीओ स्वीकृति केही समयलाई रोकेका थिए । तिहारपछि अहिलेसम्म सर्वोत्तम र रिलायन्सबाहेकका कुनै पनि कम्पनीको आईपीओ स्वीकृति भएको छैन । ‘कार्यकारी अध्यक्षले नै होल्ड गरेको आईपीओ स्वीकृतिको विषय अहिलेको काम चलाउ अध्यक्षले गर्ने कुरै भएन ।’–बोर्डका एक कर्मचारीले मेरो लगानीलाई भने ।
निवर्तमान अध्यक्ष हमालको कार्यकाल सकिएपछि लामो समयसम्म बोर्ड अध्यक्षविहीन बन्यो । दुई साताअघि मात्र अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई दैनिक कामकाज हेर्ने गरी कामु अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसपछि सञ्चालक समितिको बैठक पनि बसेको छ । अधिकारीलाई कामुको जिम्मेवारी दिएपछि पनि कुनै कम्पनीको आईपीओ, हकप्रद निष्काशन र एफपीओ निष्काशनको स्वीकृति भएका छैनन् ।
नेपाल धितोपत्र बोर्डमा अहिले ३५ वटा कम्पनीले आईपीओ निष्काशनको लागि आवेदन दिएका छन्। ३५ मध्ये आधा भन्दा बढी हाइड्रोपावर कम्पनी छन् भने बाँकीमा मिडिया, फार्मेसी, लगानी, उत्पादनमूलक र होटललगायत विभिन्न क्षेत्रका कम्पनी छन् । त्यसैगरी हकप्रद निष्काशनको लागि ९ वटा कम्पनीले आवेदन दिएका छन् । हकप्रद शेयरको लागि आवेदन दिने कम्पनीमा पनि अधिकांश हाइड्रोपावर कम्पनी नै छन् भने बाँकी बीमा कम्पनीका छन् । एफपीओ निष्काशनको लागि पनि ५ वटा लघुवित्त कम्पनीले आवेदन दिएका छन् । अधिकांश लघुवित्तले सर्वसाधारणतिर नपुग ३० प्रतिशत हिस्सा पुर्याउन एफपीओ निष्काशन गर्न लागेका हुन् ।
