Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपाल रि–इन्स्योरेन्सको १००% हकप्रद स्थगित, लगानीकर्तामा निराशा

नेपाल रि–इन्स्योरेन्सको १००% हकप्रद स्थगित, लगानीकर्तामा निराशा

अर्थ प्लस
नेपाल रि–इन्स्योरेन्सको १००% हकप्रद स्थगित, लगानीकर्तामा निराशा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले यसअघि घोषणा गरेको शतप्रतिशत हकप्रद सेयर निष्कासन तत्कालका लागि स्थगित गरेको छ।

जेनजी आन्दोलनपछिको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सरकारले नेपाल रिमा थप लगानी गर्न नसक्ने निर्णय गरेपछि हकप्रद प्रक्रिया रोक्नुपरेको हो। अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पूँजी वृद्धि योजनालाई अहिलेका लागि रोक्न लिखित निर्देशन दिइसकेको छ।

यसअघि कम्पनीले आफ्नो चुक्तापूँजी १३ अर्बबाट दोब्बर बनाएर २६ अर्बभन्दा माथि पुर्‍याउने उद्देश्यले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो। साउन १४ गते कम्पनीले अन्तर्राष्ट्रिय बजार विस्तारको आवश्यकता देखाउँदै सो सूचना सार्वजनिक गरेको थियो। बीमा प्राधिकरणले पनि पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउन २०८२ माघ मसान्तसम्मको समय दिएको थियो।

तर सरकारले अहिलेको परिस्थितिमा अग्राधिकार सेयर वा अन्य कुनै माध्यमबाट पनि थप लगानी नगर्ने स्पष्ट पारेपछि प्राधिकरणले नेपाल रिको हकप्रद तथा पूँजी वृद्धि प्रक्रिया तत्काल रोकेको छ। प्राधिकरणका एक उच्च अधिकारीले भने, “सरकारको निर्देशनअनुसार अहिलेका लागि नेपाल रिको पूँजी वृद्धि योजना स्थगित गरिएको छ।”

यो निर्णयसँगै नेपाल रिलाई चुक्तापूँजी वृद्धिको दबाब कम भएको छ भने हिमालयन रि को हकमा भने प्राधिकरणले अझै कुनै निर्णय लिएको छैन।

लगानीकर्तामा निराशा

हकप्रदको ठूलो अपेक्षा गरेर बसेका सेयर लगानीकर्ताहरूलाई ठूलो झट्का लागेको छ। केही महिनाअघि मात्र हकप्रदको हल्लाले नेपाल रिको सेयरभाउ १२८० बाट १६०० माथि उक्लिएको थियो। साउन १४ मा हकप्रदको औपचारिक सूचना आएपछि भने मूल्य घटेर १४०० आसपासमा झरेको थियो।

अहिले हकप्रद तत्काल नआउने पक्का भएसँगै लगानीकर्ताहरू निराश बनेका छन्। बजारमा हकप्रदको चर्चा चलाएर मूल्य उकास्ने र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्म भएको आरोप पनि लाग्दै आएको थियो। अहिले ती सबै लगानीकर्ताका लागि ‘हल्ला धेरै, काम केही नहुने’ स्थिति बनेको छ।

सम्बन्धित समाचार