Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बीमा कम्पनीहरूको लाभांश घोषणामा जीवन बीमा अगाडि, निर्जीवन किन पछि?

बीमा कम्पनीहरूको लाभांश घोषणामा जीवन बीमा अगाडि, निर्जीवन किन पछि?

अर्थ प्लस
बीमा कम्पनीहरूको लाभांश घोषणामा जीवन बीमा अगाडि, निर्जीवन किन पछि?

काठमाण्डौ । हालसम्म १६ बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन्, जसमा १० जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनी रहेका छन्।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नेपाल र सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन्।

त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन्।

यस वर्ष बीमा कम्पनीहरूले अप्रत्याशित रूपमा लाभांश चाँडै सार्वजनिक गरेका छन्। अघिल्ला वर्षहरूमा नेप्सेमा सूचीकृत अन्य कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न ढिलाइ गर्थे। विशेषतः जीवन बीमा कम्पनीहरूले एक्चुरियल भ्यालुएसनको कारण निर्जीवन बीमा कम्पनीभन्दा अझ ढिलो लाभांश प्रस्ताव गर्ने प्रचलन थियो।

तर यसपटक उल्टो भएको छ—जीवन बीमा कम्पनीहरूले निर्जीवनभन्दा छिटो लाभांश घोषणा गरेका छन्। संख्यात्मक हिसाबले पनि जीवन बीमा कम्पनीहरू अगाडि छन्। नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले सुरु गरेको समानान्तर मूल्यांकन प्रणालीले यसमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ। उक्त प्रणालीले एकैपटक वित्तीय विवरण र एक्चुरियल भ्यालुएसन मूल्यांकन गर्न सक्ने व्यवस्था मिलाएको कारण जीवन बीमा कम्पनीहरूले समयमै लाभांश प्रस्ताव गर्न र साधारण सभा बोलाउन सहज भएको हो।

694a7d2559ea2.png

बीमा ऐन, २०७९ अनुसार बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ। आवश्यक परे प्राधिकरणले थप दुई महिनासम्म समय दिन सक्ने प्रावधान पनि छ। प्राधिकरणका अनुसार हाल जीवन बीमा कम्पनीहरूले अनिवार्य एनालिस्ट नियुक्त गर्ने व्यवस्था र भारतीय भ्यालुएटरमा निर्भर रहनुपर्ने समस्या हटेकाले लाभांश घोषणामा हुने ढिलाइ अन्त्य भएको छ।

निर्जीवन बीमा कम्पनी किन पछि?

गत वर्षहरूमा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीहरूले लाभांश चाँडै घोषणा गर्ने गर्थे। तर यस वर्ष परिस्थिति उल्टो भएको छ। हालसम्म १० जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव गरिसक्दा निर्जीवनतर्फ केवल ६ कम्पनीले मात्र घोषणा गरेका छन्।

यसपटक निर्जीवन बीमा कम्पनीहरूको ढिलाइको प्रमुख कारण नेपाल बीमा प्राधिकरणको कडाइ हो। जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका लागू भएपछि निर्जीवन बीमा कम्पनीहरूलाई पनि एक्चुरियल भ्यालुएसन स्वीकृत गराउनुपर्ने नियम लागू भएको छ। अघिल्लो वर्षसम्म निर्जीवन बीमा कम्पनीहरूलाई यस्तो प्रक्रिया आवश्यक थिएन।

अब निर्जीवन बीमा कम्पनीहरूले पनि एक्चुरियल एनालिस्ट नियुक्त गर्नुपर्ने बाध्यताले लाभांश घोषणा ढिलो भएको प्राधिकरणले जनाएको छ।

 

सम्बन्धित समाचार