काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३२औं वार्षिक साधारण सभा आह्वान गरेको छ। पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले माघ ६ गते बिहान ११ बजे काठमाण्डौको शंखमुलस्थित अनमोल ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरिनेछ।
त्यसैगरी, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस २० गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
